घट्यो बैंक तथा वित्तीय संस्थाको ब्याजदर
काठमाडौं,२९ असोज । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सहज वित्तीय वातावरणका कारण बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) सँगै निक्षेप र कर्जाको ब्याजदरमा गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सबैको ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेको छ।

प्रतिवेदनअनुसार २०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर घटेर ६.३८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६६ प्रतिशत रहेको थियो। यसैगरी विकास बैंकहरूको कर्जाको औसत ब्याजदर ८.९५ प्रतिशतबाट घटेर ७.६७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१९ प्रतिशतबाट घटेर ८.४७ प्रतिशत कायम भएको छ।
कर्जासँगै बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको ब्याजदरमा पनि कमी आएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर २०८२ भदौमा ३.९६ प्रतिशत रहेकोमा २०८३ भदौमा ३.११ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिमा विकास बैंकहरूको निक्षेपको औसत ब्याजदर ४.५८ प्रतिशतबाट घटेर ३.४८ प्रतिशत र वित्त कम्पनीहरूको ५.७३ प्रतिशतबाट घटेर ४.०४ प्रतिशतमा ओर्लिएको छ।
कर्जा र निक्षेपको ब्याजदर निर्धारणको मुख्य आधार मानिने औसत आधार दरमा समेत सुधार देखिएको छ। वाणिज्य बैंकहरूको औसत आधार दर ५.७२ प्रतिशतबाट घटेर ४.७० प्रतिशतमा आइपुगेको छ। त्यस्तै विकास बैंकहरूको आधार दर ८.०९ प्रतिशतबाट घटेर ६.१५ प्रतिशत र वित्त कम्पनीहरूको ८.७७ प्रतिशतबाट घटेर ६.७२ प्रतिशतमा झरेको छ।
यसैगरी, अल्पकालीन ब्याजदरका सूचकहरूमध्ये ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.३५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २.१३ प्रतिशत रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर भने अघिल्लो वर्षको जस्तै २.७५ प्रतिशतमा नै स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।


