संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित ४ न्यायाधीशविरुद्ध उजुरी आव्हान
काठमाडौँ,२९ असोज । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको समितिका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।

९ गतेबाट उजुरी दिन सुरु भएपछि १९ गतेसम्म दिन सकिनेछ । समिति सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचार अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ गरी उजुरी आह्वान गरेको निर्णय गरेको बैठकपछि जानकारी दिएका थिए ।
परिषद्को असोज २० गतेको बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
उजुरी आह्वानको समय सीमा सकिएपछि समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइको प्रक्रिया अघि बढाउने छ ।


