जापानका लागि प्रस्तावित राजदूत थापाको उतै घर



काठमाडौं,२८ असोज । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले जापानमा आफ्नो परिवारको नाममा घर रहेको स्वीकार गरेका छन् ।

बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जापानमा आफ्नो नाममा कम्पनी वा सेयर लगानी नरहेको, तर श्रीमतीको स्वामित्वमा घर रहेको स्पष्ट पारेका हुन् ।’जापानमा मेरो नामको कम्पनी छैन । सेयरमा लगानी गरेको छैन । जापानमा मेरो घर छ । ४ आना पनि नभएको ठाउँमा घर । घर श्रीमतीको स्वामित्वमा छ,’ थापाले भने ।

राजदूत नियुक्त भएमा आफ्नो पारिवारिक अवस्थालाई जापानको कानुनी व्यवस्थाअनुसार व्यवस्थापन गर्ने उनको भनाइ थियो । नेपाल र जापान दुवै देशको हितमा काम गर्न सकिन्छ भन्ने विश्वासका साथ आफू राजदूतका लागि प्रस्तावित भएको उनले बताए ।

सुनुवाइका क्रममा सांसदहरूले थापाको जापानी स्थायी आवासीय अनुमतिपत्र (पीआर) र पारिवारिक अवस्थाबारे प्रश्न उठाएका थिए । जवाफमा उनले पीआर प्राप्त गर्दैमा नागरिकता नै नरहने भन्ने बुझाइ गलत भएको दाबी गरे ।’जापानले सात वर्षको पीआर दिने हो । जापानमा रहेका श्रीमती र छोराछोरीको नेपाली नागरिकता छ, पीआर भिसा हो,’उनले भने ।

आफू नेपाली पहिचानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै थापाले आफ्ना तस्बिरमा समेत नेपाली पोसाक ढाकाटोपी लगाउने गरेको बताए । जापानका विषयमा आफूले राख्ने धारणासमेत नेपालको हितसँग जोडिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्