काठमाडौंको कलंकीमा कुटपिटबाट सिन्धुलीका एक युवकको मृत्यु



काठमाडौं,२८ असोज । काठमाडौंको कलंकीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अनुसन्धानका लागि अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ।

मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई काठमाडौंको खसीबजार बस्ने १८ वर्षीय रोशन पाख्रिन छन्।

एसपी दानबहादुर थापाका अनुसार असोज २८ गते बिहान साढे ३ बजे काठमाडौं महानगरपालिका–१४ कलंकीमा रोशन र सोही ठाउँ बस्ने १९ वर्षीय रुपेश पाख्रिनबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा कुटपिट हुँदा रोशन घाइते भई बेहोस भएका थिए।

त्यसपछि उनलाई तत्काल उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका लागि पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले रुपेशलाई पक्राउ गरेको छ। घटनाबारे सोधपुछ तथा अनुसन्धानका लागि अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरी वृत्त कालीमाटीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्