समाधीको सन्देश
✍️ सुरेश बाबू जमरकट्टेल

आज अनन्त विश्रामस्थलको बीचबाट बिस्तारै हिँड्दा मनमा एउटा अनौठो शान्ति र गहिरो प्रश्न एकसाथ जाग्यो । यहाँ न कुनै पदको अहंकार छ, न धनको प्रदर्शन,न जित–हारको प्रतिस्पर्धा छ । यहाँ सबै समान छन् । जीवनभर आफूलाई ठूलो ठान्नेहरू पनि यहीँ छन्,सामान्य जीवन बिताउनेहरू पनि यहीँ छन्। अन्ततः सबैको अन्तिम ठेगाना यही रहेछ ।

जीवनभर मानिस दौडिन्छ—सम्पत्तिका लागि,प्रतिष्ठाका लागि,सफलताका लागि, सम्बन्धका लागि तर अन्तिममा सबै दौड यही मौनतामा आएर रोकिने रहेछ । यहाँ न कुनै गुनासो सुनिन्छ, न कुनै बहाना केवल मौनता छ, जसले जीवनको सबैभन्दा ठूलो सत्य सुनाइरहेको हुन्छ ।
तर चिहानमा घुमिरहँदा एउटा अर्को दृश्यले मेरो ध्यान तान्यो । कतै सिंगमरमरले बनेका भव्य समाधिहरू छन्, फूलहरूले सिँगारिएका, सुन्दर अक्षरमा नाम कुँदिएका । कतै साना घरहरु, कुनै सामान्य माटोको ढिस्को जस्ता मात्र, कुनै समयसँगै घाँस र झारहरुले ढाकेका, नामसमेत धमिलिएका । मृत्युले सबैलाई एउटै यात्रामा ल्याए पनि जीवनका पदचिह्नहरू भने फरक–फरक देखिन्छन् ।
त्यो दृश्य देखेर मनमा एउटा गहिरो अनुभूति जाग्यो । मानिस कहाँ जन्मिन्छ, त्यो उसको रोजाइ हुँदैन; तर कसरी बाँच्ने भन्ने निर्णय धेरै हदसम्म उसकै हातमा हुन्छ । अभावमा जन्मनु कुनै दोष होइन, किनकि जन्मको परिस्थिति हामीले छान्दैनौँ। तर जीवनले दिएको समय, अवसर र क्षमताको सदुपयोग नगरी, परिश्रम नगरी, इमानदार कर्म नगरी र भविष्यप्रति कुनै जिम्मेवारी नलिई जीवन बिताउनु भने आफैँप्रतिको अन्याय रहेछ ।
सायद संसारकै सबैभन्दा आनन्दको विश्राम यही हो । किनकि यहाँ न चिन्ता छ, न तनाव, न ईर्ष्या, न प्रतिस्पर्धा, न कसैलाई जित्नुपर्ने बाध्यता छ, न कसैसँग हार्नुको पीडा । जीवनभर अशान्त मन लिएर भौतारिने मानिस अन्ततः यही शान्त माटोको काखमा विश्राम गर्छ र शान्तसँग अनन्तसम्म चीरनिन्द्रामा निदाउछ ।
तर यी समाधिले मृत्युको मात्र कथा सुनाउँदैन्न । जीवन कसरी बाँच्ने भन्ने पाठ पनि सिकाउँछन् । समाधिले भन्छ—अहंकार नगर्नू, किनकि तिम्रो अन्तिम यात्रा यहीँसम्म हो। घृणा बोकेर नबाँच, किनकि अन्तिममा सबैले यही माटो अँगाल्ने हो । प्रेम गर, सेवा गर, क्षमा गर, इमानदारीपूर्वक कर्म गर । किनकि मानिसले अन्तिममा साथ लैजाने धन होइन, उसले कमाएको विश्वास, सम्मान र सत्कर्मको सुगन्ध हो ।
आज यो अनन्तविश्राम स्थल घुम्दा लाग्यो, मृत्यु डराउने विषय होइन, बरु जीवनलाई सही ढङ्गले बाँच्न सिकाउने गुरु हो । यहाँका प्रत्येक समाधिले मौन भएर पनि एउटा सन्देश दिइरहेका छन्—”जीवन क्षणभंगुर छ, त्यसैले बाँकी समयलाई अर्थपूर्ण बनाऊ।”
एक दिन हामी सबैले यही अन्तिम विश्रामस्थलमा पुग्नुपर्छ । त्यस दिन हाम्रो साथमा न धन हुनेछ, न पद, न प्रसिद्धि । साथमा हुनेछ त केवल हामीले कमाएको सद्भाव, प्रेम, सेवा र सम्झनाहरू । त्यसैले बाँचेका दिनहरूमा यस्तो जीवन बाँचौँ कि हाम्रो अनुपस्थितिमा मानिसहरूले आँसु मात्र होइन, सम्मानका साथ हाम्रो नाम पनि स्मरण गरिरहुन । यदि हामीले जन्मको धर्तीमा, बाँचेको समाजमा राम्रो संस्कार र असल कर्मको पदचाप छोड्न सकेनौं भने जन्मको कुनै अर्थ रहँदैन । जिवनको सुन्दर उपलब्धि भनेकै सत्कर्मका सुन्दर फुलबारीहरू नै हुन ।
सायद चिहानको मौनताले सिकाउने सबैभन्दा ठूलो दर्शन यहि हो—मृत्यु अन्त्य होइन, जीवनलाई अर्थपूर्ण, जिम्मेवार र उपयोगी बनाउँदै बाँच्न दिइएको अन्तिम अवसर हो ।
नेचा,सोलुखुम्बु
हाल :भक्तपुर

