कोरोना नियन्त्रणका लागि दुप्चेश्वरको तयारी तीब्र



काठमाडौं २४ चैत्र । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले कोभिड १९ कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी गरेको जनाएको छ ।

गाउँपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत बासुदेव श्रेष्ठले आज एक सूचना जारी गरी २ वटा एम्बुलेन्स तयारी गरिएको जनाएका छन् । गाउँपालिकाले रोगको रोकथामबारे जनचेतनाका कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ । सूचनामा विभिन्न प्रकारका अन्तरक्रिया तथा सरोकारवालासँग आवश्यक छलफल गरी सचेतना जगाइएको पनि उल्लेख गरिएको छ । गाउँपालिकाले विदेशबाट आएका १३ जनाको पहिचान गरेको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा वा आफ्नै घरमा क्वारान्टउाइनमा रहेको स्पष्ट पारिएको छ । गाउँपालिकाले ४१ वटा क्वारेन्टाइन बेडसमेत स्थापना गरेको छ ।गाउँपालिकाभित्र भाइरसको संक्रमण नहोस् भन्ने उद्येश्यले गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि पीपीई सेट, मास्क र स्यानिटाइजरसमेत वितरण गरेको जनाएको छ । दैनिक ज्यालादारी गरेर खाने मजदुरमा अहिले बढी समस्या पर्न सक्ने भन्दै गाउँपालिकाले त्यस्ता व्यक्तिको तथ्यांक संकलन गर्दै राहतका कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको छ ।

गाउँपालिकाका अनुसार चैत्र १० गते काठमाडौंबाट गएकी वडा नम्बर ३ की राउतवेशीकी २८ वर्षिया एक युवतीमा श्वासप्रश्वासमा समस्या भएको, रुघाखोकी लागेको र ज्वरो आएकाले स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाको तयारी अवस्थामा रहेको एम्बुलेन्सबाट त्रिशुली अस्पताल लगिएको पनि जनाइएको छ । उनलाई ४ दिन अघिदेखि यस्तो समस्या भएको परिवारले जनाएको छ । उता अस्पतालले पनि उनको स्वास्थ्य परीक्षणका लागि आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्