घण्टौं मोवाइल चलाउँदा नकारात्मक असर



एजेन्सी
कुनै समय केवल खबर आदान–प्रदानका लागि मात्रै मोबाइल फोनको प्रयोग गरिन्थ्यो । फोनमा इन्टरनेटको पहुँच थिएन र अहिलेजस्तो आधुनिक प्रविधियुक्त डिभाइस पनि थिएनन् । तर, अहिले ‘डिजिटल युग’ छ, थरीथरीका स्मार्टफोन बनेका छन् । प्रयोजन अनेक छ । जीपीएस, हेल्थ ट्र्याक, क्यामेरा, गेमदेखि समाचार पढ्न स्मार्टफोनकै सहारा चाहिएको छ । साथीभाइ वा पारिवारिक सदस्यको डिनर जमघट होस्, खाना अर्डर नगरी सबैका औंला स्मार्टफोनतिर चल्न थाल्छन् । सार्वजनिक सवारीसाधन चढेका बेला होस् वा ग्रोसरी स्टोरमा सामान किन्न लामो पंक्तिमा रहँदा, प्राय फोन नचलाउने कोही हुन्न । समय यस्तो छ, एकछिन फोन स्वीच अफ हुँदा मानिस सबै गुमाएजस्तो गरी आत्तिन्छ ।

भर्बल होइन, भर्चुअल लाइफमा व्यस्त छ विश्व ।अत्यधिक स्मार्टफोन प्रयोग अहिले लतकै रूपमा देखिएको छ । स्मार्टफोन लतलाई ‘नोमोफोबिया’ पनि भनिन्छ । विश्वभर अहिले करिब ३.५ बिलियन स्मार्टफोन प्रयोगकर्ता रहेका तथ्यांक छ । सन् २०२१ मा यो संख्या ३.८ बिलियन पुग्ने अनुमान गरिएको छ । बेलायतका १० वर्ष उमेर समूहका करिब ५० प्रतिशत बालबालिकासँग स्मार्टफोन रहेको एउटा प्रतिवेदनले देखाएको छ । मिडिया नियामक निकाय अफकमको प्रतिवेदनअनुसार, ९ र १० वर्ष उमेरका बालबालिकाले स्मार्टफोन प्रयोग गर्ने क्रम दोब्बर बढेको छ । अफकमले यसलाई ‘डिजिटल स्वतन्त्रता’ उपमा दिएको छ ।
बीबीसीका अनुसार उक्त प्रतिवेदनले ३ देखि ४ वर्ष उमेर समूहका २४ प्रतिशत बालबालिकासँग ट्याब्लेट भएको र तीमध्ये १५ प्रतिशतले आफ्नो ओछ्यानमै लैजान अनुमति पाएका जनाएको छ ।

अफकमले सन् २०१९ मा बेलायतभरका बालबालिका तथा अभिभावक गरी ३ हजार २ सय जनासँग अन्तरवार्ता लिएको थियो । अफकमको वार्षिक प्रतिवेदनले बालबालिकामा बढिरहेको मिडिया लत र उनीहरूले कस्ता खालका डिभाइस प्रयोग गर्छन् भन्ने देखाएको छ ।
अफकमका निर्देशक यी चुङ तेले भने, ‘मोबाइल फोन बालबालिकाले रुचाउने एउटा उपकरण हो । म के ठान्छु भने यी बालबालिकालाई इन्टरनेटबाहेकको संसारबारे केही थाहा छैन र उनीहरू अनलाइन वा अफलाइन के हो भनेर छुट्याउन सक्दैनन् ।’

यस अतिरिक्त प्रतिवेदनमा ५ देखि १५ वर्षसम्मका ४८ प्रतिशत किशोरीले अनलाइन गेम खेल्ने गरेको पाइएको छ, जसमा किशोरका संख्या ७१ प्रतिशत छ । स्न्याप च्याट र फेसबुक उनीहरूका लागि सबैभन्दा लोकप्रिय सोसल मिडिया रहेको पनि अध्ययनमा उल्लेख छ ।

अध्ययनमा सहभागी ४५ प्रतिशत अभिभावकले इन्टरनेट प्रयोग बालबालिकाका लागि फाइदाजनक हुने सोचेको बताएका छन् । घण्टौं समय फोनमा व्यतीत गर्दा जागिर, पढाइ वा अन्य रचनात्मक काममा लगाव घट्ने मात्र होइन, निद्रा गढबढ, मानसिक समस्या, चिन्ता, एक्लोपन र नकारात्मक सोच वृद्धि हुने समस्या देखिएको विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्