आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक गर्ने कार्यसूची,अन्योल भने कायमै
काठमाडौँ ।सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
यद्यपि प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले यस बिषयमा आज निर्णय गर्दैछ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा अवरोध गरिरहेकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अझै अन्यौलमै छ। सदनको अवरोध खुलाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्न सदनको अवरोध खुलाउने विषयमा राति अवेरसम्म सहमति जुटेको छैन ।
सहकारीको रकम घोटाला प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने कांग्रेसको माग छ । त्यसका लागि संसदीय छानबिन गर्नुपर्ने उसको माग छ । तर, कांग्रेसको उक्त मागमा सत्ता पक्ष सहमत नहुँदा सदनमा अवरोध भइरहेको छ ।
सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले आफ्नो माग पूरा नभए राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ ।यसले दबाबमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सत्ता सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरे । तर, सो छलफलमा पनि कांग्रेसको माग पूरा गर्ने सहमति जुटेको छैन ।

