खोटाङ सेवा समाजको देउसी-भैलो कार्यक्रम सम्पन्न, करिब ४ लाख रुपैयाँ संकलन



काठमाडौं,२३ कार्तिक । खोटाङ सेवा समाज, काठमाडौंको आयोजनामा शुभ दीपावली २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पूर्व अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा खोटाङका अग्रज, समाजसेवी, राजनीतिज्ञ, सरकारी सेवाका उच्च पदस्थ तथा पूर्व पदाधिकारी, साहित्यकार, कलाकार, व्यवसायी र विभिन्न क्षेत्रका व्यक्तित्वसहित सयौँको संख्यामा खोटाङवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा कोषाध्यक्ष प्रकाश पुरीका अनुसार देउसी–भैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ। समाजले सामाजिक सेवा, मानवीय सहयोग तथा आपसी एकतालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा अध्यक्ष नवल खड्काले खोटाङ सेवा समाज एउटा संस्था मात्र नभई खोटाङवासीको एकता, आत्मीयता, पहिचान र सेवाको साझा चौतारी भएको उल्लेख गर्नुभयो। उहाँले समाजलाई यहाँसम्म ल्याइपुर्‍याउन अग्रज तथा सम्पूर्ण सदस्यहरूको साथ, सहयोग र सद्भाव महत्त्वपूर्ण रहेको बताउँदै सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

अध्यक्ष खड्काले आगामी नयाँ वर्षमा जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको र यही पुस महिनामा समाजको वार्षिक साधारणसभा गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो।

उहाँले शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रमले आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई अझ प्रगाढ बनाएको बताउँदै मौलिक संस्कृतिको संरक्षण, सेवाभाव, सहकार्य र मानवताको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष जगतप्रसाद घिमिरेले राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य र महत्त्वबारे कार्यक्रम संयोजक नवराज रोकाले प्रकाश पार्नुभएको थियो। देउसी–भैलोको भट्याइ प्रेमप्रसाद भट्टराईले गर्नुभएको थियो।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार राकेश राई, नेपाली सशस्त्र प्रहरीका पूर्व आईजीपी तथा संरक्षक सदस्य सनतकुमार बस्नेत, संरक्षक सदस्य तथा सफल व्यवसायी टंक श्रेष्ठ, खोटाङ सेवा समाज कतारका सल्लाहकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष प्रेमप्रसाद भट्टराईलगायतको उपस्थिति थियो।

त्यसैगरी संविधानसभा सदस्य तथा पूर्व सांसद दुर्गाजयन्ती राई, पूर्व सांसद तथा एमाले नेता विशाल भट्टराई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव कालीप्रसाद पराजुली, नेपाल सरकारका सचिव पुष्कर सापकोटा, लोक सेवा आयोगका पूर्व अध्यक्ष माधव रेग्मी, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी, उच्च अदालतका न्यायाधीश कृपासुर कार्की, साहित्यकार तथा नेपाल सरकारका उपसचिव टंक भट्टराईलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यस्तै पूर्व प्रमुख जिल्ला अधिकारीहरू ध्रुवबहादुर खड्का, कृष्णबहादुर कटुवाल, नरबहादुर खड्का, गणेश आचार्य र शम्भु घिमिरे, वरिष्ठ अधिवक्ता तथा समाजका पूर्व महासचिव देवराज कटुवाल, अडिटर तथा पूर्व कोषाध्यक्ष तारा दाहाललगायतको सहभागिता रहेको थियो।

राजनीतिक क्षेत्रबाट नेपाली कांग्रेस खोटाङका सभापति रोजेन राई, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको समेत उपस्थिति थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन प्राज्ञ तथा गायिका सत्यकला राई, मोडल तथा नृत्याङ्गना शशिकला राई, गायिका सुशीला राई, बाँसुरीवादक नगेन्द्र राई, तथा गायिका परीबुङ राईलगायत कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै अध्यक्ष खड्काले खोटाङवासीबीचको एकता, सहकार्य र सेवाभावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सेवा नै धर्म हो, एकता नै हाम्रो शक्ति हो र मानवता नै हाम्रो पहिचान हो’भन्ने मूल भावनासहित सम्पन्न कार्यक्रमले खोटाङवासीबीचको आत्मीयता, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष नवल खड्काले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अग्रज, अतिथि, कलाकार, सहयोगी, सदस्य तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो,भने कार्यक्रम सञ्चालन महासचिव राजु एन राईले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्