पाँचदिने साबुन,हार्पिक, फिनेल तथा सरफ सम्बन्धी सीप विकास तालिम सम्पन्न
सोलुखुम्बु,१८ जेठ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–७ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको पाँचदिने साबुन,हार्पिक, फिनेल तथा सरफ सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। थुलुङ दुधकोशी गाउँपालिका महिला तथा बालबालिका शाखा तथा दुधकोशी सामुदायिक सिकाइ केन्द्रको समन्वयमा संचालित उक्त तालिम सोमबार सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले सीप सिकाइमार्फत सहभागीलाई दक्ष बनाउने तथा गाउँमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उत्पादन कार्यमा लाग्न आग्रह गर्दै स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष कार्कीले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक विकासलाई पनि समान रूपमा प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो। वडावासीको साथ,सहयोग र विश्वासका कारण वडामा महत्वपूर्ण विकासका कामहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको उहाँको भनाइ थियो।
तालिमको सहजीकरण प्रशिक्षक निर्मला भण्डारीले गर्नुभएको थियो। तालिममा ३२ जनाको सहभागिता रहेको थियो।
सहभागी जयबहादुर राईले अपाङ्गता भएका व्यक्तिलाई समेत सहभागी गराएर समावेशी ढंगले कार्यक्रम सञ्चालन गरिएकोमा खुसी व्यक्त गर्दै आफू उद्यमी बन्ने प्रतिबद्धता जनाउनुभयो। त्यसैगरी सहभागी राजकुमारी राईले समयानुकूल तालिमको आयोजना गरिएको र विकास निर्माणका कार्यहरू पनि जनचाहना अनुसार सञ्चालन भइरहेको भन्दै वडा सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो।
तालिमका सहभागीहरूले आफूहरूले उत्पादन गरेका साबुन, फिनेल र हार्पिक प्रयोगमा ल्याउने मात्र नभई व्यावसायिक उत्पादन गरी बजारमा बिक्री तथा निर्यातसम्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालिम महिला तथा बालबालिका शाखा, थुलुङ दुधकोशी गाउँपालिका र दुधकोशी सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा सञ्चालन गरिएको थियो।

