हराउँदै गएको संस्कार र आदरभाव : गुरुको बिदाइमा खड्किएको प्रश्न



✍️डम्बरराज पन्त
असोज २३ गते शुक्रबार,चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारको प्राङ्गणमा ‘विजयादशमी–२०८३ को शुभकामना आदानप्रदान’ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। उक्त अवसरमा विद्यार्थीहरूलाई शैक्षिक छात्रवृत्ति वितरण गर्ने, चन्द्रोदय शैक्षिक कोषका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्ने तथा अवकाश प्राप्त शिक्षक–कर्मचारीहरूको बिदाइ र सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको थियो।

आफ्नो उर्वर जीवनका तीन दशकभन्दा बढी समय चन्द्रोदय माध्यमिक विद्यालयमा बिताएर अक्षरको उज्यालो बाँड्नुभएका आदरणीय शिक्षक गोकर्णकुमार श्रेष्ठ सरसँगै लामो समय विद्यालयमा सेवा गर्नुभएका कर्मचारीद्वय शान्ति म्याम र कालीमाया दिदीलाई सम्मानसहित बिदाइ गर्ने कार्यक्रम थियो।

कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहँदा मेरो मनमा भने एउटा गहिरो संशय, बेचैनी र अपसोचले अनेक प्रश्न जन्माइरहेको थियो। तर्क र विचार फरक हुन सक्छन्। तर, मेरो आशय व्यक्तिगत गुनासो वा असन्तुष्टि व्यक्त गर्नु होइन। यो त संस्कार, सम्मान, गुरुको त्याग र तपस्या, गुरुशिक्षा तथा शैक्षिक उपलब्धिप्रतिको कृतज्ञतासँग सम्बन्धित साझा सरोकार हो। त्यसैले आफ्ना अनुभूति र विचार यहाँहरूसमक्ष सार्वजनिक गर्ने प्रयास गरेको छु।

शिक्षक एउटा बालकलाई विषयगत ज्ञान सिकाउने गुरु मात्र होइनन्; उनी जीवनका उज्याला पक्ष देखाउने आदर्श व्यक्तित्व पनि हुन्। विद्यार्थीका विभिन्न क्षमता र सम्भावनाको पहिचान गर्दै उनीहरूलाई सही मार्गनिर्देशन गर्ने महत्त्वपूर्ण भूमिका शिक्षकले निर्वाह गरेका हुन्छन्।

जसरी एउटा दीप वा मैनबत्ती अरूलाई उज्यालो दिन आफू जलेर अन्ततः आफ्नो अस्तित्वसमेत समाप्त पार्छ, त्यसरी नै एउटा शिक्षकले शिष्यको सार्थक जीवन निर्माणका लागि आफ्नो ऊर्जा, समय र सामर्थ्य खर्चेको हुन्छ। शिक्षकको योगदान कक्षाकोठामा पाठ पढाउने कार्यमा मात्र सीमित हुँदैन; उसले विद्यार्थीको सोच, व्यवहार, चरित्र र भविष्य निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

आदरणीय गोकर्णकुमार श्रेष्ठ सरकै उदाहरण लिऊँ। उहाँले कक्षाकोठामा विद्यार्थीहरूलाई गणितका जटिल हिसाबहरू सूत्रमार्फत सुल्झाउन सिकाउँदै कैयौँका जीवनका अप्ठ्यारा मोडमा समाधान खोज्ने आधारसमेत तयार पार्नुभयो होला। तर, जब छत्तीस वर्षसम्म अरूका निम्ति समर्पित जीवनको महान् यात्राबाट बिदा हुने क्षण आयो, तब उहाँप्रतिको सम्मान र आत्मीयताको अपेक्षाले मेरो मनलाई नराम्ररी छोयो।

वर्षौँसम्म नयाँ पुस्ताको भविष्य कोर्न चक, डस्टर, मार्कर र मसीका दागलाई आफ्नो कर्मजीवनको अभिन्न हिस्सा बनाउने शिक्षकले सीमित तलब र सेवासुविधाका बीच पनि अरूको भविष्य निर्माणमा आफूलाई समर्पित गरे। यस्ता शिक्षकको बिदाइको क्षणमा उनीहरूले पाउनुपर्ने सम्मान, आत्मीयता र कृतज्ञताको अनुभूति कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा हामीले गम्भीरतापूर्वक बुझ्न जरुरी छ।

त्यस दिन विद्यालयको प्राङ्गणमा शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। कक्षा १ देखि १२ सम्मका विद्यार्थीका गतिविधि रमाइला र उत्साहप्रद थिए। कार्यक्रमको वातावरण पनि उल्लासमय थियो। उपस्थितिको बाक्लोपन, गतिविधिको रौनक र समारोहको भव्यतामा कुनै कमी देखिँदैनथ्यो।

तर, त्यही भीडभित्र आत्मीयता,आदर र कृतज्ञताको अनुभूति अपेक्षाकृत कमजोर देखिएको आभासले मेरो मन खिन्न बनायो।

वर्षौँसम्म जसको सान्निध्यमा ज्ञानको बीउ रोपियो, जसको मार्गनिर्देशनमा जीवनका प्रारम्भिक पाठ सिकियो, तिनै गुरुको बिदाइको अन्तिम क्षणमा सम्मानको प्रतीकका रूपमा निधारमा रातो टीका लगाइदिने, आत्मीयतापूर्वक बिदाइ गर्ने र शुभकामनाका केही शब्द व्यक्त गर्ने अवसरसमेत अपेक्षित रूपमा सदुपयोग हुन नसकेको अनुभूति भयो।

त्यसैगरी, बिदाइका क्रममा गोकर्ण सरले व्यक्त गर्नुभएका अनुभव र अनुभूतिका शब्दहरू ध्यानपूर्वक सुन्ने तथा उहाँप्रति सम्मान प्रकट गर्ने अवसर पनि पर्याप्त रूपमा आत्मसात् हुन नसकेको जस्तो लाग्यो। उहाँको मन्तव्यप्रति अपेक्षित ध्यान र तालीमार्फत व्यक्त गरिने सामान्य उत्साहसमेत कमजोर देखिँदा मनमा अनेक प्रश्न उठे।

भनिन्छ, बिदाइ आफैँमा एउटा नमिठो अनुभूति हो—वियोग, रिक्तता र विरक्तिको क्षण। तर, त्यस दिन मेरो मनमा उठेका अनुभूतिहरूले बिदाइको पीडालाई अझ गहिरो बनाइदिए।

यसको कारण के थियो? मानवीय संवेदनाको कमी, परिस्थितिको प्रभाव, कार्यक्रम व्यवस्थापनको कमजोरी वा अन्य कुनै कारण? यसको यकिन उत्तर दिन सकिँदैन। तर, एउटा शिक्षकले आफ्नो जीवनको लामो समय समर्पण गरेको संस्थाबाट बिदा हुँदा उसले कम्तीमा आत्मीयता, सम्मान र कृतज्ञताको अनुभूति गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो।

ठूला उपहार र भव्य पुरस्कार त धेरै टाढाका कुरा हुन्। गुरुप्रति शिष्यले देखाउनुपर्ने न्यूनतम सेवाभाव, हार्दिकता र आदरको सानो अंशसमेत अपेक्षाअनुसार अनुभूत गर्न नसक्दा मनमा पीडाको सञ्चार हुनु स्वाभाविक हो।

के एउटा शिक्षकको जीवनभरको कमाइ गुनासो र गाली मात्र हो? के उसले अन्ततः सम्मानको सट्टा उपेक्षा मात्र भोग्नुपर्ने हो? यी प्रश्नको उत्तर हामी सबैले खोज्नुपर्छ।

जसले जीवनभर ज्ञान र अनुशासनलाई गणितका साधारण क्रियासरह दैनिक जीवनमा अभ्यास गराउन खोज्यो, आज उसैको बिदाइमा सम्मान र कृतज्ञताको आधारभूत पाठ कमजोर देखिनु आफैँमा सोचनीय विषय हो।

जसले जीवनका कठिन हिसाबहरूलाई हजारौँ सूत्रका माध्यमबाट कहिले सहज ढङ्गले त कहिले पटक–पटक अभ्यास गराएर सिकायो, आज उसकै योगदानको मूल्याङ्कन गर्ने क्षणमा हामी चुकेका त छैनौँ?

गणितका कठिन सवालहरूलाई सहजै सुल्झाउन सक्ने शिक्षक जीवनको एउटा संवेदनशील मोडमा आफैँ भावनात्मक रूपमा पराजित भएको अनुभूति गर्न बाध्य हुनु कति पीडादायी होला! आफ्ना प्रिय शिष्यका निम्ति अनेक प्रयास गर्ने शिक्षकले तिनै शिष्यको उपस्थितिमा बिदाइको क्षणमा अपेक्षित आत्मीयता नपाउँदा मनमा चोट पर्नु अस्वाभाविक होइन।

छत्तीस वर्षसम्म आफ्नो ऊर्जा, युवावस्था र सपनाहरू शिक्षण पेसामा समर्पण गरेपछि एउटा शिक्षकले पाउने प्रतिफल औपचारिक कार्यक्रम र केही शब्दमा मात्र सीमित हुनुपर्ने हो त? अरूको उज्यालोका लागि आफू खटिरहने गुरुले आफ्नो कर्मजीवनको अन्तिम चरणमा सम्मान र कृतज्ञताको अनुभूति गर्न नपाउनुजस्तो पीडादायी कुरा अरू के हुन सक्छ?

अवश्य पनि शिक्षकको योगदानलाई उपहार, पुरस्कार वा तालीको संख्याले मात्र मापन गर्न सकिँदैन। तर, सम्मानपूर्वक बिदाइ गर्ने संस्कार, उहाँका अनुभव सुन्ने धैर्य र उहाँको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने व्यवहारले शिक्षकको जीवनमा गहिरो अर्थ राख्छ।

आखिर ती छात्रछात्रा, भाइबहिनी र विद्यार्थीले आफ्नो गुरुको त्याग र समर्पणलाई कहिले बुझ्ने? आफ्नो जीवन निर्माण र व्यक्तित्व विकासका लागि शिक्षकले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकालाई कहिले मनन गर्ने?

यो प्रश्न आज एउटा विद्यालयको प्राङ्गणमा मात्र सीमित छैन। यो त हामी सबैका सामु उभिएको गम्भीर सामाजिक र नैतिक प्रश्न हो।

अझै पनि समय छ—बुझ्न र सुधार गर्न। सत्य र यथार्थका अनेक पक्ष हुन सक्छन्। कसैका अनुभव फरक हुन सक्छन्, कसैका धारणा पनि भिन्न हुन सक्छन्। तर, पुस्तकका पाना घोकेर प्राप्त गरिने अङ्कले मात्र मानिसलाई पूर्ण बनाउँदैन।

अक्षर चिनाउने, जीवनको बाटो देखाउने, गल्ती सच्याउँदै अघि बढ्न सिकाउने गुरुप्रतिको आदर, श्रद्धा र कृतज्ञता नै जीवनले सिकाउनुपर्ने सबैभन्दा ठूलो पाठ हो। यही जीवनको वास्तविक गणित हो, यही जीवनसूत्र हो। यो केवल अङ्कगणितको हिसाब होइन, मानवीय संस्कार र व्यक्तित्वको मूल्य प्रमाणित गर्ने जीवनको महत्त्वपूर्ण हिसाब हो।

कक्षाकोठामा गरिएका क्रियाकलाप वा शैक्षिक गतिविधिका क्रममा शिक्षक र विद्यार्थीबीच तितामिठा अनुभवहरू भएका हुन सक्छन्। त्यसले कसैको मन दुखेको वा चित्त अमिलिएको पनि हुन सक्छ। तर, ती पक्षलाई मात्र आधार बनाएर सम्बन्धको समग्र मूल्याङ्कन गर्नु उचित हुँदैन। विगतका नमिठा अनुभवलाई विस्मृतिको गर्भमा राख्दै पवित्र भावनासहित अघि बढ्नु नै गुरु–शिष्य सम्बन्धको सुन्दर पक्ष हो।

आज गोकर्ण सरको बिदाइको प्रसङ्ग छ। भोलि अरू कुनै शिक्षक वा कर्मचारीको पालो आउला। पर्सि अरू कसैको भूमिका फेरिएला। तर, जीवनमार्गमा विरलै आउने यस्ता अविस्मरणीय क्षणलाई ऊर्जामय, उत्साहजनक र आत्मीय बनाउन सक्नु नै सम्बन्धित व्यक्तिको आजीवन खुसीको स्रोत बन्न सक्छ।

सेवाबाट अवकाश लिनु एउटा पेसागत यात्राको अन्त्य भए पनि जीवनको अन्त्य होइन। यो त लामो समयको अनुभव, योगदान र समर्पणलाई सम्मान गर्दै नयाँ जीवनयात्रातर्फ अघि बढ्ने अवसर हो। त्यसैले अवकाशको क्षणलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी सम्मान, आत्मीयता र कृतज्ञताको उत्सव बनाउन सक्नुपर्छ।

कतिपय यथार्थ नचाहँदा नचाहँदै भोग्नुपर्छ र कतिपय परिस्थितिलाई मन नलागे पनि स्वीकार्नुपर्छ। तथापि, आगामी दिनमा यस्ता क्षणमा कसैले पनि उपेक्षित भएको अनुभूति गर्न नपरोस् भन्ने अपेक्षा हामी सबैको छ।

हामीलाई भौतिक उपहार वा व्यक्तिगत स्वार्थभन्दा पनि आत्मीयता, बुझाइ र असल संस्कारको अपेक्षा छ। सम्मानजनक व्यवहार र अनुशासित आचरण नै हाम्रा लागि पर्याप्त छन्। किनकि हामी शिक्षक हौँ—समाजका बौद्धिक वर्ग, सचेत नागरिक र भावी पुस्तालाई मार्गनिर्देशन गर्ने जिम्मेवारी बोकेका व्यक्तित्व।

हामीले आफ्नो कर्तव्य निर्वाह गरेका छौँ र त्यसप्रति सन्तुष्ट पनि छौँ। तर, शिक्षकको योगदानप्रति समाज र विद्यार्थीले देखाउने सम्मान तथा कृतज्ञताको संस्कार पनि उत्तिकै सुदृढ होस् भन्ने हाम्रो चाहना हो।

यो आलेख मेरो नितान्त व्यक्तिगत स्वअनुभव र अनुभूतिको सानो प्रकटीकरण मात्र हो। यसलाई कसैप्रतिको व्यक्तिगत आरोप वा पूर्वाग्रहका रूपमा नलिई शिक्षकको सम्मान, गुरु–शिष्य सम्बन्ध र सामाजिक संस्कारबारेको एउटा आत्ममन्थनका रूपमा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु। यस अभिव्यक्तिबाट कसैलाई पर्न जाने असर वा असुविधाप्रति म जिम्मेवार र जवाफदेही रहने व्यहोरा पनि विनम्रतापूर्वक निवेदन गर्दछु।

अन्त्यमा, आफ्नो दीर्घ शिक्षण यात्राबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएका आदरणीय गोकर्णकुमार श्रेष्ठ सरको आगामी जीवन सुदीर्घ, स्वस्थ, सक्रिय, सुखमय र सफल रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु। साथै, विद्यालयमा लामो समय योगदान पुर्‍याउनुभएका शान्ति म्याम र कालीमाया दिदीको भावी जीवन पनि सुखमय रहोस् भन्ने कामना गर्दछु।
(माध्यमिक तह, तृतीय श्रेणी नेपाली विषय शिक्षक)

प्रतिक्रिया दिनुहोस्