भोटेकोशी बाढी : कांग्रेस सांसद कार्कीले उठाए विपद्पछि उद्धार र राहतका लागि दौडिने राज्यको परम्परागत शैलीमाथि प्रश्न
काठमाडौँ,१० भदौ । भोटेकोसीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले विपद् आउनुअघि नै नागरिकको जीवन जोगाउन सक्ने गरी राज्यको पूर्वसूचना र पूर्वतयारी प्रणाली प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोसीमा उत्पन्न विपद्ले त्रिशूली हुँदै नारायणी किनारसम्मका बजार तथा बस्ती प्रभावित बनाएको उल्लेख गर्दै घटना अत्यन्तै दु:खद र अत्यन्तै संबेदनशील भएको बताए।
प्रारम्भिक विवरणअनुसार बाढीबाट दर्जनभन्दा बढी नागरिकको मृत्यु,दर्जनौँ बेपत्ता तथा ठूलो मात्रामा आर्थिक र भौतिक क्षति भएको उल्लेख कार्कीले प्राकृतिक विपद् आएपछि उद्धार र राहतका लागि दौडिने राज्यको परम्परागत शैलीमाथि प्रश्न उठाउँदै विपद् आउनुअघि नै जोखिममा रहेका नागरिकलाई सुरक्षित बनाउन सक्ने प्रणाली विकास गर्नुपर्ने बताए।
‘हाम्रो पूर्वसूचना प्रणाली कहाँ छ ? जोखिममा रहेका बस्तीमा समयमै सूचना पुग्यो कि पुगेन ? उद्धारका लागि सुरक्षा निकाय, प्रशासन र स्थानीय तहबीच पर्याप्त समन्वय भयो कि भएन ?’ भन्दै उनले सरकारसँग विपद् व्यवस्थापनको वर्तमान प्रणालीबारे गम्भीर समीक्षा गर्न माग गरे।
उनले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत टोली परिचालन गर्न, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र अवरुद्ध सडक तथा यातायात मार्ग तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह गरे।
त्यस्तै, बाढीको वास्तविक कारण र भएको जनधनको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न पनि उनले माग गरे। ठूलो मानवीय क्षति भएको भन्दै कार्कीले राष्ट्रिय शोक घोषणा गर्न सरकारको ध्यानाकर्षणसमेत गराए।
उनका अनुसार भोटेकोसीमा मात्रै होइन, देशका सबै ठूला नदी तथा सीमावर्ती क्षेत्रमा चौबीसै घण्टा प्रभावकारी निगरानी गर्ने व्यवस्था मिलाउन आवश्यक छ। नदीको जलस्तर तथा सम्भावित जोखिमबारे प्राप्त सूचना स्थानीय तह र जोखिममा रहेका बस्तीमा तत्काल पुर्याउने संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए।
‘हरेक वर्ष बाढी आउँछ अनि हामी राहत बोकेर पुग्छौँ’ यो अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै कार्कीले राज्यको विपद् नीति नै पुनर्विचार गर्नुपर्ने बताए। उनका अनुसार पहिले सूचना, त्यसपछि सुरक्षा, त्यसपछि तयारी र अन्तिममा मात्रै उद्धार तथा राहत राज्यको विपद् व्यवस्थापनको प्राथमिकता बन्नुपर्छ।
भोटेकोसी बाढीलाई आगामी दिनका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताउँदै सांसद कार्कीले प्रभावित नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्दै तत्काल राहत तथा उद्धारसँगै दीर्घकालीन जोखिम न्यूनीकरणका कार्यक्रम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए। file foto

