थुलुङ दुधकोशीमा बजार अनुगमन, ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी
सोलुखुम्बु,२१ असोज । चाडपर्व नजिकिएसँगै थुलुङ दुधकोशी गाउँपालिकाले बजार अनुगमन गरेको छ । गाउँपालिकाका आन्तरिक लेखा परीक्षक भेषराज कार्कीको नेतृत्वमा खटिएको टोलीले बुधबार गाउँपालिकाको वडा नम्बर ७ र ८ का विभिन्न होटल तथा पसलहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा करिब ४१ हजार रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरिएको गाउँपालिकाले जनाएको छ। बरामद गरिएका सामग्रीहरू आजै नष्ट गरिएको अनुगमन टोलीका संयोजक कार्कीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय,नेपाल प्रहरी, गाउँ प्रहरी तथा गाउँपालिकाका कर्मचारीसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो।
अनुगमनका क्रममा केही पसल सञ्चालकहरूले पसल बन्द गरी भागेको समेत पाइएको गाउँपालिकाले जनाएको छ। बजारमा अखाद्य तथा म्याद गुज्रिएका सामग्रीको बिक्री–वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा बजार अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।
चाडपर्वको समयमा खाद्यवस्तुको माग बढ्ने भएकाले व्यापारी तथा व्यवसायीहरूलाई गुणस्तरीय र म्याद ननाघेका सामग्री मात्र बिक्री–वितरण गर्न गाउँपालिकाले आग्रहसमेत गरेको छ।




