बुढीगण्डकी बाढीको वहाव तीब्र, चार जनाको अवस्था अज्ञात,भौतिक क्षति बढ्दै
काठमाडौं,२५ असोज । चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने मुख्य आरूघाटको पुल बगाएको छ।आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल,धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज र माछा खोला झोलुङ्गे पुल, ठाडो भर्याङको झुलुंगे पुल, खोर्लाबेशी झोलुङ्गे पुल समेत बगाएको छ।

आइतबार बिहान नदीमा अचानक आएको तीव्र बहावले पुल बगाउनुका साथै आरूघाट बजार क्षेत्रका केही घरहरूमा समेत बाढी पसेको छ।
बाढीका कारण पैयूँ र बगर गाउँका ३५ भन्दा बढी घरहरू पूर्ण रूपमा बगेका छन्। यसैगरी दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा बाढीले व्यापक भौतिक क्षति पुर्याएको छ।
नदी तटीय क्षेत्रका संरचनाहरूमा क्षति पुगेपछि गोरखा र धादिङका धेरैजसो भूभागमा विद्युत सेवा अवरुद्ध भएको छ।
गोरखातर्फ भीमसेनथापा गाउँपालिकाका वडा नं २, ३ र ४, आरूघाट गाउँपालिका तथा धार्चे गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ। यस्तै धादिङतर्फका गङ्गाजमुना गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा पनि बिजुली अवरुद्ध भएको छ।
उङ्गिलुङ खोला किनारमा रहेका ४ वटा गोठ बसेका ४ जना बेपत्ता भएका हुन्। चुमनुब्री गाउँपालिका -६ का उनीहरु गोठमा रहेको र हाल सम्पर्कबिहीन भएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिएका छन्।
विपद् व्यवस्थापन टोली र स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।


