बुढीगण्डकी बाढी : नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौँ,२५ असोज। गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङको बीचमा पहिरो खसेर थुनिएको बुढीगण्डकी नदी पुनः प्रवाह हुन थालेपछि बाढीको जोखिम बढेको छ। नदी थुनिएको स्थानबाट पानी बग्न थालेसँगै सम्भावित बाढीलाई मध्यनजर गर्दै प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्रहरीका अनुसार आइतबार बिहान ५ः३० बजे पहिरोका कारण बुढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
नदी थुनिएपछि तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सचेत गराइएको थियो। बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि नदीमा ठूलो बाढी आएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।
बाढीले थप जोखिम निम्त्याउन सक्ने भएकाले प्रहरीले त्रिशूली दोभानसम्म बुढीगण्डकी नदीको किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, नदीको बहाव सामान्य अवस्थामा नफर्किएसम्म सुरक्षित उच्च स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सम्भावित जोखिमबाट बच्न नदी आसपासका बासिन्दा तथा यात्रुहरूले प्रहरीको सूचनालाई ध्यान दिन र नदी किनारमा आवतजावत नगर्न आग्रह गरिएको छ।बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
उनले भनेका छन्– ‘गोरखाको चुमनुब्री गाउँपालिका वडा नं। ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेका छन्। ‘
आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । साथै उनी प्रभावित क्षेत्रको अवस्था बुझ्न त्यसतर्फ जाने भएका छन् ।


