उखु किसानलाई प्रोत्साहन गर्न सरकारले एक अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने



काठमाडौं,२३ असोज । सरकारले उखु उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न एक अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रदान गरिने अनुदानसम्बन्धी कार्यविधि स्वीकृत गरेपछि अनुदान वितरणको बाटो खुलेको हो। कार्यविधि बिहीबार स्वीकृत गरिएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ।

सरकारले उखु उत्पादनमा संलग्न किसानलाई उत्पादनका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान पाउने व्यवस्था छ।

यसपटक स्वीकृत भएको अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। उखु उत्पादनको परिमाणका आधारमा किसानलाई अनुदान उपलब्ध गराउने सरकारी व्यवस्था छ।

उखु खेतीमा लाग्ने उत्पादन लागत, बजारको अवस्था तथा किसानले व्यहोर्नुपर्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले लामो समयदेखि प्रतिक्विन्टलका आधारमा अनुदान उपलब्ध गराउँदै आएको छ। सरकारले उपलब्ध गराउने अनुदानले उखु उत्पादनमा किसानको आकर्षण कायम राख्न तथा उत्पादनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरेको छ।

डेढ अर्ब रुपैयाँको अनुदान चार जिल्लाका उखु किसानमा वितरण भएपछि त्यसको प्रत्यक्ष लाभ उखु उत्पादनमा संलग्न किसानले पाउनेछन्। अनुदान वितरणको प्रक्रिया भने स्वीकृत कार्यविधिअनुसार अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्