पद्मकन्या क्याम्पसमा आन्दोलनमा सक्रिय उर्मिला कडेल कांग्रेसको खस आर्य महिलाको केन्द्रीय सदस्यको उम्मेदवार
काठमाडौं, असोज २२ । काठमाडौंमा जारी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा खस आर्य महिलाको तर्फबाट उर्मिला कडेलले उम्मेदवारी दिएकी छिन् ।

धादिङबाट महाधिवेशन प्रतिनिधि छनौट भएकी उनी राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय छिन् । उनले पार्टीलाई राम्रो र गतिशील बनाउनका लागि उम्मेदवारी दिएको बताएकी छिन् । काठमाडौंको पद्मकन्या क्याम्पसमा पढ्दा विद्यार्थीका हरेक मुद्या उठाएर राष्ट्रिय राजनीतिका सबैजसो आन्दोलनमा उनी प्रतक्ष्य रुपमा देखिनेगरी संलग्न भएकी थिइन् । वागमति प्रदेशको कार्यसमिति सदस्यको निर्वाचन जितेकी उनी भन्छिन् ‘यो महाधिवेशन ऐतिहासिक हो त्यसैले पनि मजस्ता महिला केन्द्रीय समितिमा पुगेपछि केही हुन्छ भन्ने हो ।’
उनले राजनीतिलाई समाजसेवाको रुपमा लिएकी छिन् । ‘राजनीतिमा लागेर केही फाइदा लियौं भन्ने छैन, जति सकिन्छ सेवा गर्ने हो’ उनी भन्छिन् ‘बाहिर बसेर काम गर्नुभन्दा पनि पदमा भएपछि गरिएको कामले निकै अर्थ राख्ने भएकाले पनि केन्द्रीय सदस्यको उम्मेदवार भएकी हुँ ।’ उनी तीनपटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । ‘सबैले मलाई केही आशा गरेर अहिलेसम्म पार्टीमा पत्याइरहनुभएको छ भोलिको दिनमा पनि सहयोगको अपेक्षा गर्दछु’ उनी भन्छिन् ‘पार्टीमा सबैखाले विचार र समूह चाहिन्छ त्यसैले पनि मजस्ता मान्छे केन्द्रमा आउँदा कांग्रेसलाई राम्रो बनाउन सकिन्छ ।’उनले एकपटक सबैसँग सहयोगको अपेक्षा राखेकी छिन् ।




