लम्बियो कांग्रेस महाधिवेशन : थप एक दिनको काठमाडौँ बसाइ र खानपिन खर्च पार्टीले नै व्यहोर्ने



काठमाडौं,२२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान नहुने भएको छ।

आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक तयारी पूरा हुन नसकेपछि भोलि बिहान ७ बजेदेखि मात्र मतदान सुरु हुने भएको हो।

निर्वाचन समितिले यसअघि आज बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, बिहानको भारी वर्षा र प्राविधिक कारण देखाउँदै पहिलो पटक समय सारेर बिहान १० बजे पुर्याइएको थियो। १० बजे पनि निर्वाचन सामग्री र बुथ व्यवस्थापन नसकिएपछि निर्वाचन समितिले समय हेरफेर गर्दै दिउँसो १ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको थियो। तर, दिउँसो १ बजिसक्दा समेत सम्पूर्ण तयारी पूरा हुन नसकेपछि दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान सुरु हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तोकिएको हो।

निर्वाचन समितिले सूचना जारी गर्दै मतपत्र छपाईमा केही ढिलाइ भएका कारण निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएको स्पष्ट पारेको छ।

नेतृत्व चयनको निर्वाचन प्रक्रिया एक दिन पछाडि धकेलिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाइ र खानपिन खर्च पार्टीले नै व्यहोर्ने भएको छ। कांग्रेसका नेता तथा निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठले पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी ब्रेकफास्ट, लन्च,चिया तथा बसोबासको आवश्यक व्यवस्थापन पार्टीले गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्