कांग्रेस नेतृत्व चयनका लागि दुई घण्टामा खस्यो १ हजार २९३ मत
काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ ।

बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो ।मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, बागमती प्रदेशबाट २१७, लुम्बिनी प्रदेशबाट २०२ र गण्डकी प्रदेशबाट १८८ मत खसेको छ । त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७ मत खसेको जनाइएको छ ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको छ । महाधिवेशन प्रतिनिधिहरूले पार्टी सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन् ।मतदानमार्फत कांग्रेसले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान रोक लगाइएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्रै मतदान गर्न पाउनेछन्।
मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिनेछ।




