नदी तथा खोलामा जलसतह बढेपछि उपत्यकाका करिडोर भएर यात्रा गर्न रोक
काठमाडौं,९ असोज। काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढीको जलसतह बढेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

लगातारको वर्षाका कारण मनोहरा खोला, वागमती,विष्णुमती नदी र चोभार गल्छीमा पानीको सतह बढ्दै गएको हो। पानी खोलाको किनारा नाघ्ने अवस्थामा पुगेको छ । वर्षा अझै नरोकिएकाले पानीको बहाव थप बढ्दै जाने देखिएको छ।
बाढीको पानी बढेसँगै च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयसमेत डुबानको जोखिममा परेको छ । गत वर्ष पनि मनोहरा खोलामा आएको बाढी पार्टी केन्द्रीय कार्यालय परिसरमा पस्दा कार्यालय डुबानमा परेको थियो
वर्षा निरन्तर भइरहेकाले च्यासल क्षेत्रका बासिन्दा तथा आसपासका संरचनामा समेत बाढीको जोखिम बढेको छ । सुरक्षा निकायले तटीय क्षेत्रमा माइकिङ गरेर सचेत रहन आग्रह गरेको छ ।
खोलाको पानी बढेर मनोहरा पुलसम्म पुगेपछि सुरक्षाकर्मीले उक्त क्षेत्रमा आवतजावतमा रोक लगाएका छन्।सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धार टोलीसमेत परिचालन गरिएको छ ।
यसैगरी,वाग्मतीको बाढीले बल्खुस्थित तरकारी बजार जोखिममा परेको हो । बजारको सतहसम्म बाढी आएको छ । वाग्मतीको किनारमा रहेको बजार वर्षायाममा बाढीको जोखिम हुने गर्छ ।


