बर्षा अझै निरन्तर,आइतबारदेखि मौसममा क्रमिक सुधार आउने
काठमाडौं,९ असोज । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा केही दिनयता वर्षा भइरहेको छ। मौसमविद्का अनुसार आज र शनिबारसम्म वर्षा जारी रहने भए पनि आइतबारबाट मौसममा क्रमशः सुधार आउने सम्भावना छ।

निरन्तरको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश हिमाली क्षेत्रमा तथा सुदूरपश्चिमका केही हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुनसक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा, कर्णालीका पहाडी भूभागमा तथा मधेश र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ। साथै मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार शुक्रबार बिहानदेखि गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको प्रभाव रहनेछ। लुम्बिनीमा भने विशेषगरी महाभारत क्षेत्रदेखि तल्लो भूभागसम्म वर्षा बढी केन्द्रित हुनसक्ने उनको अनुमान छ। कोशी क्षेत्रमा भने वर्षाको तीव्रता तुलनात्मक रूपमा कम हुने सम्भावना छ।
वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने भएकाले मौसमविद्ले आज र शनिबार लामो दूरीको यात्रा सकेसम्म नगर्न सुझाव दिएका छन्। बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा थप सावधानी अपनाउन पनि आग्रह गरिएको छ।
मौसमविद्का अनुसार शनिबारसम्म वर्षाको प्रभाव कायम रहे पनि आइतबारदेखि प्रणाली कमजोर हुँदै गएसँगै मौसम क्रमशः सुधारतर्फ जाने सम्भावना रहेको छ।file foto


