एमाले केन्द्रीय समिति बैठक जारी, सचिवालय बैठक पनि आज बस्दै
काठमाडौं,८ असोज । नेकपा एमालेको सचिवालय बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ। ललितपुरमा गत सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठककै बीच एमालेले सचिवालय बैठक डाकेको हो।

सचिवालयको बैठक सकिएलगत्तै मध्याह्न १२:३० बजे केन्द्रीय कमिटीको बैठक बस्ने र आजै उक्त बैठक समापन गर्ने तयारी रहेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।
आज बस्ने सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि दिएका सुझावहरू समेट्ने, केन्द्रीय कमिटीमा नयाँ सदस्य मनोनीत गर्ने तथा स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल हुनेछ। सचिवालयमा टुङ्गो लागेपछि यी निर्णयहरू आजै केन्द्रीय कमिटी बैठकबाट घोषणा गरिने नेताहरूले बताएका छन्।


