१५ औं महाधिवेशन : ५८ जिल्लाका ५१२ वटा पालिकामा कांग्रेस अधिवेशन हुँदै

काठमाडौं,७ असोज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका पालिकामा अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका अनुसार असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटनसहित बन्द सत्र सुरु भई निर्वाचनसमेत सम्पन्न भएको छ। बाँकी २४१ पालिकामा भने असोज ८ र ९ गते अधिवेशन प्रक्रिया जारी रहनेछ।
कांग्रेसले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। सोहीअनुसार अहिले स्थानीय तह हुँदै अधिवेशन प्रक्रिया अघि बढाइएको हो।
यसैबीच, असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले कांग्रेसले अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थालाई ध्यान दिन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।
जल तथा मौसम विभागबाट प्राप्त मौसमसम्बन्धी सूचनालाई ध्यानमा राख्दै सम्बन्धित निर्वाचन अधिकृतले आफ्नो मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रका अधिवेशनका लागि अनुकूल समय मिलाउन तथा आवश्यक सतर्कता अपनाउन कांग्रेसले आग्रह गरेको छ।
कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य–सदस्य सचिव राजु कटुवालले जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिइएको हो।


