शनिबार सुरु कांग्रेसको वडा अधिबेशन आज सकिंदै



काठमाडौं,४ असोज । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत शनिबारदेखि शुरु भएको कांग्रेसको वडा अधिवेशन भोटेकोशी बाढीका प्रभावित रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाहेक देशभरका सबै वडामा आज सकिंदछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइ रहेको वडा अधिवेशनको पहिलो दिन शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ। वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेसले जनाएको छ।क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्।

काँग्रेसले ४६० गाउँपालिकामा ३ हजार २१५, २७६ नगरपालिकामा ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ र ६ महानगरपालिकाका १७४ गरी देशभर ६ हजार ७४३ वडामा अधिवेशन गर्दै छ। विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४३४ जना निर्वाचित हुनेछन्। यसमा ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य निर्वाचित हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

गाउँपालिकाका वडामा पाँच पदाधिकारी र सात सदस्य गरी प्रतिवडा १२ जनाका दरले ३८ हजार ५८० जना निर्वाचित हुनेछन् भने नगरपालिकाका ३ हजार १२० वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी प्रतिवडा १३ जनाका दरले ४० हजार ५६० निर्वाचित हुदैछन्। त्यस्तै, २३४ उपमहानगरपालिका वडामा पाँच पदाधिकारी र १० सदस्य गरी ३ हजार ५१० जना तथा १७४ महानगरपालिका वडामा पाँच पदाधिकारी र ११ सदस्य गरी २ हजार ७८४ जना निर्वाचित हुनेछन्।

वडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याका आधारमा एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ मा जिल्ला र असोज १० मा प्रदेश अधिवेशन हुनेछ। त्यसपछि असोज १६–१९ मा काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ। file foto

प्रतिक्रिया दिनुहोस्