कुवेतमा बन्धक बनाइएकी महिलासहित १० जनाको उद्धार



काठमाडौं,६ भदौ । कुवेतमा घरेलु कामदारका रूपमा पठाइएकी एक नेपाली महिला करिब डेढ महिनासम्म बन्धक बनाइएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कुवेतमा बन्धक बनाइएकी महिलासहित नेपालमा रहेका थप नौ जना महिलाको उद्धार गरिएको हो।

घरेलु कामदारका रूपमा एक महिलालाई कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाइएको सूचनाका आधारमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा सम्बन्धित नेपाली राजदूतावाससँग समन्वय गरी ती महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ। कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–११ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–७ थापागाउँ बस्दै आएकी ३१ वर्षीया ममता पहाडीलाई पक्राउ गरेको छ।

पक्राउ परेकी पहाडीलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पहाडीले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएपलगायतका माध्यमबाट विभिन्न व्यक्तिसँग अनलाइन सम्पर्क गरी आकर्षक तलब तथा सुविधामा घरेलु कामदारका रूपमा कुवेत पठाइदिने भन्दै महिलाहरूलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ।

उनले विभिन्न स्थानबाट महिलाहरूलाई काठमाडौं बोलाई तारकेश्वर नगरपालिका–७ थापागाउँस्थित डेराकोठामा राखेर कुवेत पठाउने तयारी गरेको प्रहरीको भनाइ छ। सोही क्रममा सम्पर्कमा आएका नौ जना महिलालाई कुवेत पठाउन तयार पारेर राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो।
उद्धार गरिएका महिलाहरूलाई आवश्यक परामर्श प्रदान गरी आफन्तको जिम्मा लगाएर पठाइएको प्रहरीले जनाएको छ। साथै, अवैध रूपमा महिलाहरूलाई घरेलु कामदारका रूपमा कुवेत पठाउने कार्यमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कुवेतमा बन्धक बनाइएकी महिला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–११ की हुन् भने हाल उनी काठमाडौंको तारकेश्वर नगरपालिका–७ थापागाउँमा बस्दै आएकी थिइन्। प्रहरीले घटनालाई मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित गम्भीर कसुरका रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्