रास्वपा सभापति लामिछानेसंग को को जांदैछन् भारत भ्रमणमा ?



काठमाडौँ,१८ जेठ । रास्वपाले सभापति रवि लामिछानेको भ्रमणको एक दिनअघि राति बल्ल कार्यक्रम सार्वजनिक गरेको छ।

भारतीय जनता पार्टी (भाजपा) ले औपचारिक जानकारी दिएलगत्तै रास्वपाले पनि सभापति लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको हो।

रास्वपाले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा जान लागेको बताएको हो।

पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने उल्लेख छ।

उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

यसबीच व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।

पार्टी सभापतिसँगै जाने प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य,सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहेको विज्ञप्तिमा उल्लेख छ। नयाँदिल्लीस्थित नेपाली दूतावासले लामिछानेका उच्चस्तरीय कार्यक्रमहरू सम्पन्न गर्न समन्वयात्मक रूपमा सहयोग गरिरहेको पनि जनाइएको छ।

यसको केहीअघिमात्र भाजपाले लामिछानेको भारत भ्रमणबारे आधिकारिक जानकारी सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्