बाढी–पहिराेबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा करोडौंको क्षति : मन्त्री घिसिङ



काठमाडौं,१९ असोज । यही असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढी–पहिराेबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको उर्जा,जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले जानकारी दिएका छन् । मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले दिएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको हो।

कन्काइले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होक्लबारी गाउँका करिब ११४ घर डुबाएको छ। त्यहाँको ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका– २ को कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा रु ७५ लाखको क्षति भएको छ।

यसैगरी, मेची नदीले ठाउँठाउँमा रहेको स्परमा करिब रु ५० लाख, विराटनगरस्थित केशलिया नदीमा डुबान भई ७५ घर स्थानान्तरण, कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा करिब रु २५ लाख बराबरको क्षति भएको छ।

रौतहटमा लालबकैया नदीको दायाँ किनारमा करिब ६० मिटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान तथा घरगोठ डुबान हुँदा रु ६० लाख बराबरको क्षति भएको छ। महोत्तरीमा रातो नदीले तटबन्ध बगाउँदा रु आठ करोड बराबरको क्षति भएको छ।

सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताउनुभयो। सुनकोशीको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबेको छ।

प्रतिक्रिया दिनुहोस्