केदार हत्याकाण्डको स्मृतिमा नेचासल्यानमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना
सोलुखुम्बु,२९ भदौ । जिल्लाको नेचासल्यान गाउँपालिकामा २१ औं केदार स्कुल हत्याकाण्ड स्मृति दिवस एबम् २३ औं शहीद कोमल स्मृति दिवस तथा हालैको भाद्र २३ र २४ गतेको जेन्जी (Gen Z) आन्दोलनमा सहादत प्राप्त गर्ने ५९ जना वीर शहीदहरुको सम्झनामा ‘दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम’ को आयोजना गरिएको छ ।

शहीद रमेश कटेल ‘कोमल’ का दाईहरु कमलप्रसाद कटेल र पुण्य प्रसाद कटेलको उपस्थितिमा आइतबार सहिद कुसुम स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा शहीदहरुको फोटोमा माल्यार्पणका साथै दीप प्रज्वलन गरिएको गरिएको थियो।
केदार ह्त्याकाण्डका रुपमा चर्चित यो घटना २०६१ भाद्र २९ गते नेचासल्यान गाउँपालिका-४ स्थित केदार मा.वि.को प्राङ्गणमा अखिल (क्रान्तिकारी) सोलुखुम्बुका तत्कालिन संयोजक भुपेन्द्र कार्की ‘अजय’, सचिव उर्मिला राई ‘क्रान्ति’, सदस्यहरु तिलकुमारी गिरी ‘आस्था’ , आइकम राई ‘रविन’ र पेम्बा शेर्पा सहित ५ जनाको विद्यालयको प्राङ्गणमै निर्मम हत्या भएको थियो ।
त्यसैगरी, २०५९ असार १७ गते नेलेबाट गिरफ्तार गरी ३ महिना बढी सोलुखुम्बुको हिरासतमा राखि ओखलढुंगा हिरासत स्थान्तरण गर्ने क्रममा २०५९ भाद्र २९ गतेका दिन सोलुदुधकुण्ड-८ स्थित पत्तालेको थाले डाँडामा शहीद रमेश कट्टेल ‘कोमल’ को निर्मम हत्या गरिएको थियो । त्यसै गरी २०८२ भाद्र २३ र २४ गते भएको जेन्जी (Gen Z) आन्दोलनमा सहादत प्राप्त गर्ने श्रीयम चौलागाई लगायतका ५९ जना शहीदहरुका परिवारमा समवेदना प्रकट गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमलाई प्रतिष्ठान अध्यक्ष लोकेन्द्र आर.सी., युवा नेता नेता सीताराम भट्टराई साथै शहीद परिवारका तर्फबाट कमलप्रसाद कटेल लगयतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शहीद परिवार,शुभेच्छुक,शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

