पशुपति मन्दिरमा सार्वजनिक हित र नैतिकता विरुद्धको कार्य गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं,२१ असोज । पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा,सुविधा तथा नैतिकता विरुद्धको कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पशुपति क्षेत्र विकास कोषको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरेको हो।
असोज १८ गते काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिर अगाडि ‘प्रियंका सनी’ नामक TikTok अकाउन्टबाट सार्वजनिक भएको भिडियोका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ६.१ विपरीत कार्य भएको भन्दै उजुरी दिएको थियो।
उक्त उजुरीपछि प्रहरी वृत्त गौशालाबाट अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा असोज २० गते साँझ करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीको सहयोगमा इटहरी उपमहानगरपालिका–९ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ३० वर्षीय ओसिम अन्सारी र सोही स्थानकी ३१ वर्षीया प्रियङ्का परियार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा,सुविधा तथा नैतिकता विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज २० गतेदेखि लागू हुने गरी उनीहरूलाई सात दिनको म्याद थप अनुमति दिएको छ।
घटनाबारे प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।




