कांग्रेसको महाधिवेशनमा खसआर्यतर्फ खुला केन्द्रीय सदस्यमा वृखबहादुर रावलको उम्मेदवारी
काठमाडौं,असोज २२ । काठमाडौंमा जारी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा खस आर्य तर्फबाट खुला केन्द्रीय सदस्यमा वृखबहादुर रावलले उम्मेदवारी दिएका छन् ।

उनी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । विद्यार्थी राजनीतिबाट माथि उठेर पार्टीको महाधिवेशनमा लागेका उनी अहिले आफ्नो कुरा राख्दै मतदातासँग मत मागिरहेका छन् । ‘मैले अहिलेसम्म जे गरें र अब जे गर्न सक्छु त्यहीमात्र कुरा गरेर मत मागेको छु’ उनी भन्छन् ‘अहिलेसम्म इमानदारिताको राजनीति गरें, भोलि पनि म यही बाटोमा जान्छु ।’ उनी कांग्रेसभित्र चर्चित अनुहार हुन् । उनले ‘युवाको साथ, समृद्ध नेपाल, हाम्रो लक्ष्य’ भन्ने मूलनारा अघि सारेका छन् । कैलाली–१ बाट महाधिवेशन प्रतिनिधि छनौट भएका उनी राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अनुशासन समितिको संयोजक भएर काम गरिसकेका उनी मतदातासँग पार्टीको हितका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, यसलाई सबैको साझा बनाउनु हाम्रो दायित्व हो ’ उनी भन्छन् ‘कांग्रेससँग देशको मात्रै होइन अन्तर्राष्ट्रिय राजनीति पनि जोडिएकोले कांंग्रेससँग नै मानिसले धेरै आशा गरेका छन् ।’
उनले पार्टीलाई राम्रो र गतिशील बनाउनका लागि उम्मेदवारी दिएको बताएका छन् । उनी हिजोको दिनमा विद्यार्थीका हरेक आन्दोलनमा सक्रिय थिए । ‘मैले पार्टीको लागि जति गरें त्यो चानचुने छैन, अहिले मत माग्न जाँदा पनि सबैले त्यो पुरानो कुरा सम्झिनुभएको छ’ उनी भन्छन् ‘यो महाधिवेशन ऐतिहासिक हो त्यसैले पनि मजस्ता महिला केन्द्रीय समितिमा पुगेपछि केही हुन्छ भन्ने हो ।’
उनले राजनीतिलाई समाजसेवाको रुपमा लिएका छन् । ‘राजनीतिमा लागेर केही फाइदा लियौं भन्ने छैन, जति सकिन्छ सेवा गर्ने हो’ उनी भन्छन् ‘बाहिर बसेर काम गर्नुभन्दा पनि पदमा भएपछि गरिएको कामले निकै अर्थ राख्ने भएकाले पनि केन्द्रीय सदस्यको उम्मेदवार भएको हुँ ।’ उनले एकपटक सबैसँग सहयोगको अपेक्षा गरेका छन् ।




