कांग्रेसको मतदान समय सर्यो, दिउँसो एक बजेबाट हुने
काठमाडौं,२२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने मतदान समय दोस्रोपटक सरेको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार अब मतदान दिउँसो १ बजेदेखि सुरु हुनेछ।

यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदान समय तीन घण्टा सारेर बिहान १० बजे पुर्याइएको थियो। तर‚ दोस्रोपटक संशोधन गर्दै अब दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
मतदानका लागि प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ। राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।
खुलामञ्चमा रहेको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ। गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल तथा मधेश प्रदेशका प्रतिनिधिले तराई–मधेस हलमा मतदान गर्नेछन्।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले पहाड हलमा मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गएर मतदान गर्न आग्रह गरेको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायत सामग्री लिएर मतदानस्थलमा प्रवेश गर्न नपाइने निर्वाचन समितिले जनाएको छ। प्रतिनिधिले समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।
मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। १५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।
मतदान सकिएपछि मतगणना सुरु गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।




