प्रधानमन्त्री ओलीद्वारा कांग्रेस सभापति देउवासहित मन्त्रीहरुको प्रस्ताव अस्वीकार



काठमाडौं,२३ भदौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको आग्रहलाई पुर्ण रूपमा अस्वीकार गरेका छन् ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकमा कांग्रेस मन्त्रीहरुले सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी निर्णय फिर्ता लिन राखेको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन्।कांग्रेस सभापति देउवाले समेत सो निर्णय फिर्ता लिन आग्रह गर्दै पार्टी सांझ बसेको पदाधिकारी बैठकबाटै प्रधानमन्त्री ओलीलाई फोन गरेको बैठकका सहभागी नेताहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिन नहुने धारणा राखेका थिए ।

“सामाजिक सञ्जालसम्बन्धी गरिएको निर्णय तत्काल फिर्ता हुनुपर्छ भनेर स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कुरा उठाउनुभएको थियो,” ती मन्त्रीले भने, “कांग्रेसबाट सहभागी अरु मन्त्रीहरुले पनि निर्णय फिर्ता लिन भन्नुभएको थियो ।”

यसैबीच सोमबार १९ जनाको ज्यान जानेगरी भएको गोलीकान्डको छानिबन गर्नका लागि समिति बनाउने निर्णय गरिएको थियो । समितिमा रहने सदस्यहरुको भने टुंगो नलागेको ती मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्