‘जेन जी’ आन्दोलन : प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह



काठमाडौं,२३ भदौ । राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनकारीमाथि ‘अत्यधिक’ बल प्रयोग गर्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । सोमबार (भदौ २३) विज्ञप्ति जारी गर्दै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन समेत आग्रह गरेको छ ।

‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी केही मानिसको मृत्यु भएको भन्दै आयोगले दुःख व्यक्त गरेको छ । “…यसप्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,” आयोगले भनेको छ ।अनुगमनका क्रममा हिँडेको आयोगका सवारीसाधन र टोलीमाथि समेत हिंसात्मक आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देशमा सामाजिक सञ्जाल निष्क्रियको विरोधमा जेनजीले काठमाडौं, विराटनगर, पोखरा, इटहरी, दमकलगायत स्थानमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्