विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित,माओवादी केन्द्र,रास्वपा र राप्रपाको फरक मत
काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ संसदीय समितिबाट पारित भएको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले उक्त विधेयक पारित गरेको हो। पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ।
विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन भने शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत सुरु गरेका छन्।
पारित बिधेयकप्रति प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका चार सांसदसहित रास्वपा र राप्रपाका सांसदहरुले असहमति जनाउदै फरक मत पेस गरेका छन्।
समितिबाट पारित विधेयकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् । माओवादीका सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन् ।
माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णय बमोजिम समावेश गर्नुपर्ने लगायत ५ बुँदे फरक मत राखेको छ भने रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे मत राखेको छ ।
यस्तै, राप्रपाले पनि निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको छ ।
विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । file foto

