आफ्नै कमजोरी सच्च्याएर अघि बढ्ने हो भने कांग्रेसलाई कसैले चुनौती दिन सक्दैन : कार्की



काठमाडौं,१ भदौ । नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले पार्टीका केन्द्रीय नेताहरुको व्यबहार र अभिव्यक्तिका कारण कांग्रेस हुँ भनेर जिल्ला जान पनि लाजमर्दोस्थिति रहेको बताएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेस भित्रको अपरिहार्यता,सहमति,सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका कार्कीले सो कुरा बताएका हुन्।

केन्द्रमा कोही शेरबहादुर,कोही शेखर र कोही गगन कांग्रेस हुंँदा त्यसको असर र प्रभाव तल्लो तहसम्म परेको उल्लेख गर्दै कार्कीले कांग्रेसजनका लागि यो सबै भन्दा ठुलो दुर्भाग्य भएको बताए। गुट र उपगुटका आधारमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउने र जिताउने खेलमा नेताहरु नै संलग्न हुँदा कांग्रेस निरन्तर कमजोर बन्दै गएको उनको भनाई थियो।

बिगतमा जो जसबाट गल्ती भएका छन्,तिनलाई सुधार गरेर सहमति,सहकार्य र एकताका साथ अघि बढ्नुको विकल्प नरहेको उनको भनाई थियो।आफ्नै कमजोरी र गल्ती सुधार गरेर अघि बढ्ने अठोट सबैले गर्ने हो भने कांग्रेसलाई चुनौती दिन कसैले नसक्ने बताउंदै उनले भने-‘सामाजिक सञ्जालमा रोइलो गरेर पार्टी बलियो बनाउँन सकिदैन ।’

बर्षा सकिए लगत्तै जिल्ला,गाउँ र टोलसम्म पुगेर जनताका गुनासो सुन्न र उनीहरूका समस्या समाधानका लागि पहल गर्न नेताहरुलाई आग्रह गर्दै उनले प्राप्त जिम्मेवारी निर्बाह गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्