कांग्रेस सभापति देउवाले हिजो दिए कांग्रेसको सदस्यता,आज खारेज
काठमाडौं,३० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार सानेपास्थित मुख्यालयमा महोत्तरीका देवेन्द्र यादवलाई दिएको पार्टी सदस्यता आज खारेज भएको छ ।

महामन्त्री विश्व प्रकाश शर्मा सहितको उपस्थितिमा केही पार्टी नेताहरुको आग्रह सभापति देउवाले बिहिवार सदस्यता प्रदान गरे पनि झा माथि फौजदारी कानूनी प्रक्रिया अघि बढिरहेको जानकारी भए पछि सदस्यता खारेज गरिएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
पौडेलले शुक्रबार बिज्ञप्ति जारी गर्दै भनेका छन्-हिजो बिहीबार विहान ९:४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझिदै गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कार्वाही प्रकृया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।
साथै, कानूनी कारवाहीको प्रकृया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ । निजलाई पार्टी प्रवेश गराउन ल्याउनु हुने साथीहरुसँग यस बारे गम्भीरतापूर्वक जानकारी लिइँदै गरेको समेत जानकारी गराइन्छ ।

