बर्तमान सरकार जग्गा प्लटिङ गरेर बेच्ने दलालहरुको स्वार्थमा काम गरिरहेको छ : बर्षामान
काठमाडौं,२९ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले वर्तमान सरकार जग्गा प्लटिङ गरेर बेच्ने दलालहरुको स्वार्थमा काम गरिरहेको आरोप लगाएका छन् ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो आरोप लगाएका हुन्।वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका श्रृंखलाको कारण जनतामा चरम निराशा छाएको टिप्पणी गर्दै पुनले ओली सरकारको कुशासनसँग लड्न नसकेर डाक्टर रामेश कोइरालाले देश छोडेको पनि आरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सदनमा गरेको भाषणमा आफूले गरेको कामको फेहरिस्त सुनाएको र भाषण हेर्दा देशमा कुनै समस्या नै नभएकोजस्तो लाग्ने बताउँदै उनले भने, ‘प्रधानमन्त्रीज्यू तपाईंले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरुको चीरहरण भएको किन बिर्सिनुभयो ? तपाईंले स्वास्थ्यको कुरा गरिरहँदा उता मेरिटोक्रेसी मिचेर भागबण्डा गरिरहँदा, तपाईंको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सक देश छोड्दै थिए।’

