कोदालोको पासोले हानेर श्रीमतीको हत्या
पाँचथर,१६ साउन । आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फालेलुङ गाउँपालिका-७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङ छन् । फिदिम नगरपालिका-१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो।
घाइते अनुलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उता,हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटे पक्राउ परेका छ्न्।
काठमाडौं महानगरपालिका-२५ न्ह्योखामा भारत पश्चिम बंगाल घर भएका ५३ वर्षीय सुर्वता पालको साउन १४ गते राति हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगर बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ।

