सोलुदुधकुण्डको प्रशासनिक शिविरमा ५ हजार बढीले लिए सेवा, वृद्धबृद्दाहरु हर्षित
काठमाडौं,१४ साउन । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौँमा सञ्चालन गरेको चार दिने एकीकृत सेवा प्रवाह कार्यक्रमबाट जम्मा ५ हजार ३ सय ३५ जना सेवाग्राही लाभान्वित भएका छन् ।

विभिन्न पेशा तथा व्यवसायका सिलसिलामा राजधानी काठमाडौंमा बसोबासरत नगरवासीहरूलाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने अभिप्रायले सञ्चालन गरिएको सो शिबिरमा मालपोत तथा भुमि कर संकलन,जन्म मृत्यु दर्ता,बसाई सराई,राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा प्रवाह गरिए पनि सबैभन्दा बढी फाईदा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण गर्नुपर्ने वृद्धब्रुद्दाहरुलाई पुगेको छ।
गत बर्षसम्म आवश्यक कागजात पठाएपछि वडा कार्यालयहरुले नविकरण गरिदिंदै आएकोमा यस बर्षबाट बायोमेट्रीक फिंगरिङ अनिवार्य गरिएसंगै उनीहरु समस्यामा परेका थिए। बर्षायामको प्रतिकूल समयमा वृद्धबृद्दाहरुलाई आवतजावतमा हुने कठिनाईलाई दृष्टिगत गर्दै नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रस्तावमा नगर कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार सो एकीकृत सेवा शिबिर सञ्चालन गरिएको थियो।यसबाट आफुहरुलाई सबैभन्दा बढी लाभ पुगेको भन्दै उनीहरू हर्षित भएजा छन्।
नगरपालिकाका सहित ११ वटै वडाले एकै थलोमा सेवा प्रवाह गर्ने गरी रामनगर पार्टी प्यालेस,रामहिटी काठमाडौंमा आइतबार नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले सो शिबिरको उद्घाटन गरेका थिए । तीन दिने सो शिबिर मंगलबार सम्पन्न हुने भए पनि सेवाग्राहीहरुको चाप बढेपछि आजका लागि एक दिनका लागि समय थप गरिएको थियो । थप गरिएको यो समयमा झण्डै तीन हजार सेवाग्राहीहरुले सेवा लिएका छन्।मंगलबारसम्म झण्डै २९ सयले सेवा लिएका थिए ।
बसोबास स्थलमै आएर नगरपालिकाले सेवा प्रवाह गर्दा जिल्ला पुग्नुपर्ने झन्झटबाट मुक्ति मात्रै नभएर आफुहरुको समय र खर्च समेत बचत भएको सेवाग्राहीहरुको प्रतिक्रिया छ । उनीहरुले नगर प्रमुख शेर्पा र सिंगो नगरपालिकाले चालेको यो कदमको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
यता नगरप्रमुख शेर्पाले भने सेवा शिबिर सम्पन्न भएपछि नागरिकप्रति स्थानीय सरकारको दायित्व वहन गर्ने कार्यमा एक सशक्त र महत्त्वपूर्ण कदम उठाएको महसुस गरेको प्रतिक्रिया दिंदै यति ठुलो संख्यामा नागरिकहरुलाई सेवा प्रदान गर्न सक्नु अत्यन्तै हर्षको विषय भएको बताए।
यस अभियानमा दिनरात खटेर सेवा प्रवाहमा प्रत्यक्ष भूमिका निर्बाह गर्ने नगर पालिकाको सम्पूर्ण टीमसहित कर्मचारी र स्वंसेवकहरुप्रति नगरप्रमुख शेर्पाले आभार प्रकट गरेका छन् । file foto

