सिन्धुलीको गोलन्जोरबाट बेपत्ता हायु परिवारका १६ जनाको खोजीका लागि प्रहरी परिचालन



काठमाडौँ,१२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ भण्डास बिप्परका उर्मिला हायुसँगै बेपत्ता १६ जनालाई खोज्न प्रहरी रामेछापतिर गएको छ।

मोबाइलको लोकेशन रामेछापतिर देखाएको र त्यसतर्फ इन्सपेक्टरको नेतृत्वमा प्रहरी परिचालन गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले जानकारी दिए।

उनकाअनुसार बेपत्ता भएकामध्ये एक जनाको मोबाइलको अन्तिम लोकेशन रामेछापको सिमिलछाप भन्ने ठाउँतिर देखाएको छ। यद्यपि अहिले मोबाइल बन्द रहेको छ।

रामछापमा आफन्तहरू रहेको बुझिएको र त्यहाँ खोजीकार्यका लागि प्रहरी परिचालन भएको हो। प्रहरीले अन्य हायु समुदायमा गएको हुन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरी परिचालन गरेको छ।

तीन दिनदेखि उर्मिलासँगै उनका ६ जना छोरी, ६ जना छोरा, १ बुहारी, १ नातिनी र १ ज्वाइँ बेपत्ता छन्। सोमबार दिउँसो १२:३० बजे १६ जना बेपत्ता भएको खबरपछि प्रहरी भण्डास बिप्परमा परिचालन भएको थियो।

बिप्पर घरदेखि दुई किलोमिटर आसपासको जङ्गलमा खोजी गर्दा कुनै अवस्था पत्ता लाग्न सकेको छैन। यद्यपि अहिले पनि सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा सशस्त्र प्रहरी र स्थानीयले बिप्पर क्षेत्रमा बेपत्ताहरूको खोजी कार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्