विद्यार्थीहरूलाई करियर मार्गदर्शन र विभिन्न तालिम प्रदान गर्दै ‘सौहार्द करियर फेस्ट’ सम्पन्न



दावा जाङ्बु शेर्पा,काठमाडौं,१२ साउन ।’लियो क्लब अफ काठमाडौं सौहार्द’को आयोजनामा र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा ‘सौहार्द करियर फेस्ट–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ। कक्षा १२ को परीक्षा सकेर बसेका करिब १५० विद्यार्थीलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममार्फत विविध करियर सम्भावना र व्यक्तिगत क्षमता विकाससम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको हो।

कार्यक्रममा ‘प्लस टु’ पछि के गर्ने? कुन विषय रोज्दा भविष्यमा फाइदा हुन्छ? र, आफूभित्र भएको प्रतिभालाई कसरी निखार्ने? भन्ने जस्ता जिज्ञासाको उत्तर दिँदै विशेषज्ञहरूले विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गरे।

त्यसका साथै सेयर बजार, स्वस्थ खानपान, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), च्याटजीपीटी, फ्रिलान्सिङ, इन्टेरियर डिजाइन लगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूद्वारा तालिम दिइएको थियो।

शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रमप्रति विद्यार्थीहरूको उत्साह उल्लेखनीय देखिएको थियो। सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले भविष्य निर्धारणमा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे। एक विद्यार्थीले भने, “कार्यक्रममा धेरै नयाँ कुरा सिक्न पाएँ। अब रिजल्ट आएपछि आफूलाई मनपर्ने र भविष्यमा अवसर हुने विषय रोज्नेछु। यस्ता कार्यक्रम फेरि भएमा म अवश्य सहभागी हुनेछु।”

कार्यक्रम निकै उपलब्धिमूलक भएको आयोजकको भनाइ छ। सहभागी विद्यार्थीको नाममा वृक्षरोपण कार्यक्रम पनि छिट्टै आयोजना गरिने लियो क्लब अफ काठमाडौं सौहार्दले जनाएको छ।

कार्यक्रममा कान्तिपुर इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप राज जोशीले विद्यार्थीहरूलाई रुचिअनुसारको विषय रोज्न प्रोत्साहन गरे। उनले भने, “नेपालमै पनि विभिन्न क्षेत्रमा पढेर सफल हुन सकिन्छ। विदेश जानु भनेकै सफलता हो भन्ने छैन। आफूले रोजेको क्षेत्रमा मिहिनेत गर्न सके सफलता अवश्य प्राप्त हुन्छ।”

उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सकारात्मक ऊर्जा दिने भएकाले समय–समयमा आयोजनाका लागि कलेज प्रशासनले पूर्ण सहयोग गर्ने पनि प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्