चिकित्सकहरुको आन्दोलन स्थगित , आजबाट नियमित सेवा सञ्चालन हुने



काठमाडौं,२५ असार । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएसंगै आजबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरुबाट नियमित सेवा सञ्चालन हुने भएको छ।उपभोक्ता अदालतको आदेशविरुद्ध चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि यस अघि स्वास्थ्य संस्थाहरुमा ओपीडी सेवा बन्द रहेको थियो।

मंगलबार सिंहदरबारमा स्वास्थ्यसहित तीनजना मन्त्रीको उपस्थितिमा भएको वार्तामा सहमति जुटेपछी चिकित्सकहरुको जारी आन्दोलन फिर्ता भएको हो।विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायतका विषयमा ७ दिन भित्र सुझावसहितको प्रतिवेदन पेस गर्न समिति गठन गर्ने सहमति छ।

समितिको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका महाशाखा प्रमुख, कानुन मन्त्रालयका सहसचिव,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसका सहसचिवको समिति गठन गर्ने सहमित छ।समितिको सुझवा अनुसार फास्ट ट्र्याकबाट कानुन संशोधन गर्ने सहमति छ।

उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।अदालतको आदेशलाई नै चुनौती दिने गरी चिकित्सकहरू आन्दोलनमा होमिए।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो। यो फैसला मान्य नहुने चिकित्सको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्