इरान आक्रमण : अमेरिकाले विश्वव्यापी युद्धआतंकको त्रास फैलाएको नेपालका नौ कम्युनिस्ट घटकको आरोप



काठमाडौँ,९ असार। नेपालका नौ कम्युनिष्ट दलले इरानमाथि अमेरिकी आक्रमणको भर्त्सना गर्दै यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको आरोप लगाएका छन् ।

इरानमाथि अमेरिकाले आक्रमण गरेको भोलिपल्टै आइतबार संयुक्त प्रेस बिज्ञप्ति प्रकाशित गर्दै माओवादी महासचिव देव गुरुङ, नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटा,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता, पवनमान श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महासचिव आहुति, नेकपा (बहुमत)का कृष्णप्रसाद धमला र नेकपा, उपाध्यक्ष रामबहादुर भण्डारीलगायतले अमेरिकाले इरानको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाउँदै विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र,पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोज्न आग्रह पनि गरेका छन्।

‘हामी राजनीतिक दलहरु नागरिक समाजको तर्फबाट प्यालेस्टाइनमा इजरायली हस्तक्षेपविरुद्ध अभियान संचालन गर्दै प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरेका थियौं । यस घटना सेलाउन नपाउँदै मतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ,’ ती दलले भनेका छन्, ‘त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ ।’

‘यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ यो गम्भीर युद्ध अपराध हो,’ उनीहरुले भनेका छन्, ‘यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौं । अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्