श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ
सुनसरी,८ असार ।आफ्नै श्रीमती २४ वर्षीया ढलिसदा मुसहरको हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोल बस्ने ३० वर्षीय सोनिया मुसहरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोनियाले शनिबार राति कुटपिट गर्दा घाइते भएकी ढलिसदाको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रह प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उता,कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी संखुवासभा जिल्ला चैनपुर नगरपालिका-९ खाम्लिङ बस्ने ६२ वर्षीय दुर्गा बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय पर्शुराम विकको २०६१ साल चैत २२ गते हत्या गरेको घटनामा पुनरावेदन अदालत धनकुटाको २०६९ असार १७ गतेको फैसलाले २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका -९ खाम्लिङबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ ।

