रास्वपाले पनि गर्यो संसद बैठक बहिष्कार,प्रधानमन्त्रीसंगको प्रश्नोत्तर कार्यसूचीबाट हटाईयो
काठमाडौं,६ असार । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलित बनेका रास्वपा र राप्रपाका सांसदहरूले आफूहरूले उठाएका मागप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै बैठक बहिष्कार गरेका हुन्।

राप्रपाले यसअघिका बैठक बहिष्कार गर्दै आएको थियो। आज राप्रपासँगै रास्वपाले पनि बैठक बहिष्कार गरेको हो।बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए। बैठक सुरू हुनेवित्तिकै अवरोध सुरू गरेपछि सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेकाले कार्यसूचीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरे। तर, पनि उनीहरूले विरोधलाई जारी राखे। विरोधकै बिच सभामुखले बैठकको कार्यसूचीलाई अघि बढाएपछि दुवै दलका सांसदहरूले बैठक नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन्।
उनीहरूले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरूको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम समेत प्रभावित भएको छ । सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरू आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए ।
यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा छलफलका निर्धारित युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची हटाइएको छ । दुवै मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि उक्त छलफल कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिए ।

