कांग्रेस महाधिवेशन : सकियाे मतदान, सभापतिकाे परिणाम ११ बजे आइसक्ने
काठमाडौँ,२३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय समिति चयनका लागि शुक्रबार भएकाे मतदान सकिएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार ९९ प्रतिशतभन्दा बढी मतदान भएको छ।

सभापति पदको मतगणना आजै राष्ट्रियसभा गृहमा हुने र राति ११ बजेसम्ममा परिणाम आइसक्ने केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जनाएका छन्।
सभापतिबाहेक अन्य पदका मतपेटिका आजै कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुर्याइनेछ।
नेपाली कांगेसको सभापति पदमा निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत (बहुमत) प्राप्त गर्नुपर्ने प्रावधान छ। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेको अवस्थामा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने प्रावधान छ।
यसपटक दुई जना (गगनकुमार थापा र श्यामकृष्ण खड्गी) मात्र उम्मेदवार रहेकाले एक जनाले बहुमत (५१ प्रतिशत) प्राप्त गर्ने सम्भावना छ। दुवै उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसके मात्र फेरि मतदान हुनेछ।
सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना पूरा भई परिणाम प्राप्त हुन कम्तीमा तीन दिन लाग्ने निर्वाचन समितिले जनाएको छ।


