भोटेकोशी र सुनकोशी नदीमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
चौतारा,४ असार । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले चीनको भोटेकोशी नदी क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावनाबारे सतर्क रहन सार्वजनिक सूचना जारी गरेको छ।

प्रशासनका अनुसार असार ७ गतेसम्म तिब्बत क्षेत्र हुँदै भोटेकोशी नदीमा उच्च वर्षा हुने जानकारी प्राप्त भएको छ। चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार भोटेकोशी र त्यससँगै बग्ने सुनकोशी नदीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा बुधबार जारी सूचनामा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।
प्रशासनले जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक परेको खण्डमा सुरक्षित स्थानतर्फ सारिन तथा स्थानीय निकाय र सुरक्षा निकायहरूसँग समन्वय गर्न समेत अनुरोध गरेको छ।

