रामेछाप समाज जापान किताकान्तो क्षेत्रीय समितिको प्रथम अधिवेशन शनिबार गरिने
दावा जाङ्बु शेर्पा,काठमाडौं,१ असार । जापानको किताकान्तो क्षेत्रमा बसोबास गर्दै आएका रामेछापबासीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले’रामेछाप समाज जापान-किताकान्तो क्षेत्रीय समिति’ले प्रथम अधिवेशन आयोजना गर्ने भएको छ ।

आपसी सहकार्य,पारस्परिक आत्मीयता तथा मौलिक संस्कृति र पहिचानको जगेर्ना गर्ने लक्ष्यसहित शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामाले जानकारी दिए।
आगामी शनिबार अधिवेशन गुन्माको ओइजुमीस्थित चौतारी रेस्टुरेन्ट (〒370-0517 群馬県邑楽郡大泉町西小泉2丁目3−22) मा हुने तय भएको उनले बताए।यो अधिवेशनबाट किताकान्तो क्षेत्रका रामेछापबासीलाई एउटै मञ्चमा ल्याउने, सुख–दुःखमा साथ दिने समाज निर्माण गर्ने,संस्कृति र मूल्यमान्यता जगेर्ना गर्दै स्थायी संगठनात्मक ढाँचा निर्माण गर्ने,तथा भावी कार्ययोजना प्रस्तुत गरी नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ।
अधिवेशनमा किताकान्तो क्षेत्रमा रहनुभएका सम्पूर्ण रामेछापबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै निर्वाचन समिति संयोजक समेत रहेका शेर्पाले भने,-‘यो केवल औपचारिक कार्यक्रम मात्र नभई,हाम्रो पहिचान,पारिवारिक सम्बन्ध र सामाजिक उत्तरदायित्वको साझा अभिव्यक्ति हो।’
अधिवेशनका लागि ‘हामी छुट्टाछुट्टै ठाउँमा,तर एउटै परिवारभित्र’ र ‘रामेछाप हाम्रो चिनारी–जापानमा हाम्रो आत्मीय परिवार’ भन्ने नारा तय गरिएको छ।रामेछाप समाज जापान–किताकान्तो क्षेत्रीय समितिको यो पहलले सबैलाई एकताबद्ध गर्दै सामाजिक परिवर्तन र सहभागिताको बलियो पाइला चाल्ने विश्वास लिइएको उनले बताए।

