संसद अवरोधको स्वरुप बदल्न अर्याल र लिङ्देनलाई सभामुख घिमिरेको आग्रह
काठमाडौ,१ असार । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गर्नुभएको छ ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको बताउँदै अवरोधको स्वरुप बदल्न आग्रह गर्नुभयो । सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराउनुभयो ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाउनुभयो । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गर्नुभएको थियो । अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्नुभएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। -फाईल तस्बिर

