बालमैत्री वडा बन्यो सोलुदुधकुण्ड नगरपालिकाको वडा नं -७ गार्मा



सोलुखुम्बु,जेठ २९ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं-७ गार्मालाई बालमैत्री वडा घोषणा गरिएको छ ।

सोलुखुम्बु जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा नगर उपप्रमुख गान्धीमाया तामाङको बिशिस्ट आतिथ्यतामा बिहिबार सम्पन्न कार्यक्रममा नेपालमा २०६८ सालदेखि कार्यान्वयनमा आएको बालमैत्री स्थानीय शासन घोषणाका सूचकहरू अनुसार कुल ५१ वटा मध्ये ५० वटा अर्थात् ९८ प्रतिशतभन्दा बढी सूचाङ्क पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको हो । यो घोषणा संगै सोलु दुधकुण्ड नगरपालिकाको वडा नं- ७ जिल्लाकै पहिलो बालमैत्री शासनयुक्त वडा बन्न सफल भएको छ ।

वडाध्यक्ष सोनाम ग्याल्जन शेर्पाको अध्यक्षतामा सम्पन्न सो घोषणा सभामा आ-आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि निरौला,बिशिस्ट अतिथिद्वय क्रमश: नगरप्रमुख शेर्पा र उपप्रमुख तामाङले बालमैत्री संस्कृतिको प्रवर्द्धन गर्दै वडाले अन्य वडाहरूका लागि समेत अनुकरणीय अभ्यास प्रस्तुत गरेको बताएका थिए।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार सेवा प्रवाह, संस्थागत संरचना, बाल सहभागिता र बाल अधिकारको प्रत्याभूति जस्ता सूचकहरूमा यो वडाले उल्लेख्य प्रगति गरेको छ ।

सर्वेक्षण अनुसार यस वडाका ५१३ घरधुरीमा रहेका २ हजार ४६६ नागरिकहरू बालमैत्री सोच, व्यवहार तथा अभ्यासमा सहभागी भएको जनाईएको छ ।

यो ऐतिहासिक उपलब्धि सबैको साथ, सहयोग र समन्वयकै परिणाम भएको बताउँदै वडाध्यक्ष शेर्पाले राष्ट्रिय मापदण्डअनुसार हाल पुरा गरिएका ९८ प्रतिशत सूचकांक जीवन्त राख्नु अहिलेको प्रमुख दायित्व रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्